Showing posts with label आफ्नै गन्थन. Show all posts
Showing posts with label आफ्नै गन्थन. Show all posts

Thursday, April 10, 2014

अनि म हराँए ।

अनि म हराँए ।

उमेरले पाँच त जेठबाट लाग्ने हो।
पुषबाटै शैक्षिक सत्र शुरु हुन्छ। यही पुषबाट म पनि स्कूल जाने। स्कूल काँहा?? म त बोर्डिङ जाने।

दाजु, (ठूलो बुबाको छोरा) परार सालबाटै बोर्डिङ जान थालेको।
आहा!! अब म पनि जाने। बिहानै सुकिला ड्रेसमा सजिएर घाँटीमा टाइ झुण्डयाएकाहरुसंगै म पनि केही पाइलासंगै हिड्थें, अनि फेरि फ़र्किएर आउथे, दिन भरि धुलो र माटोमा खेल्न। तिनले पछाडी भिर्ने ब्याग, हातमा बोक्ने टिफ़िन ती सबै सबैले मलाइ निक्कै लोभ्याउथ्यो। ति सबै चिज मेरो पनि अब आफ्नै हुदैछ भनेर दंग पर्थे। तर मलाइ के थाहा, स्कूल भित्र पट्यारलाग्दो भूतहरु पनि हुनेछन भनेर।

स्काइ राइडर बोर्डिङ स्कूल।
मेरो पहिलो पाठशाला हुदै थियो यो। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पर्छ, त्यती खेर नगरपालिका भैसकेको थिएन क्यार, गाबिस नै थियो। सायद ५ या ६ कक्षासम्म पढ़ाई हुन्थ्यो त्यहाँ। स्कूलसम्म पुग्ने बाटाहरु धुलाम्मे ग्राभेल थिए, खाल्डाखुल्डी टन्नै भएका। घरबाट स्कूलसम्म पुग्न साइकलमा त्यस्तै २० मिनेट जति लाग्थ्यो। त्यहाँ पढ्ने हाम्रो घर वरिपरीका केटाकेटीलाई लिन रिक्सा आउथ्यो, म पनि अब रिक्सा चढेर पढ्न जाने मन फुरुङ्ग भयो।

अनि म नर्सरीमा भर्ना भए।
जिन्दगीको नयाँ अध्याय शुरु भयो मेरो, भर्ना गरेको दिन बुबा ममी दुबै जनाले मलाइ लिएर स्कूल जानुभयो। दिदी पनि संगै हुनुहुन्थ्यो, मामाघर बसेर सरकारी स्कूलमा ३ कक्षेसम्म पढेर फर्किनुभाको। दिदीलाई १ कक्षामा  र मलाई नर्सरीमा नयाँ भर्नाका प्रक्रियाहरु भए त्यहाँ । म भने स्कूलको अफिस कोठामा झुन्डेका अनेकौं नक्सा र चार्टहरुमा नजर डुलाइरहें। ति सबैमा मलाई सबैभन्दा अनौठो ग्लोब देखेर लाग्यो (त्यो चिजको नाम ग्लोब रहेछ भनेर मैले निक्कै बर्ष पछी मेसो पाए)। हामीसंंग कुरा गर्दै बस्नु भएको एक जना त्यहीको मास्टरले बिचबिचमा घुमाई रहेको देखेर मैले मन मनै त्यो एउटा खेलौना भन्दा बड्ता क्यै नभएको निर्क्यैल निकाले। मदन सरले मलाई काखमा लिएर भन्नुभयो, अजय!! तिमी हाम्रो नयाँ बिद्यार्थी। भोली देखी बोर्डिङ आउने।

Sunday, March 16, 2014

नेपालको ऎतिहासिक सफलताको साक्षी हुदै गर्दा


फागुले उन्मत्त दिन, जब साँझ ढल्कदै थियो, एउटा ऎतिहासिक पलको साक्षी हुदै थिए र म जसरी नै सारा नेपाली त्यो पलको साक्षी हुन चाहिरहेथे, खोजिरहेथे | १६ मार्च २०१४ आइतबारको दिन नेपाली क्रिकेट इतिहासमा युगौ युगसम्म स्मरण गरिने दिन बन्दै थियो | हल्का गर्मी बढे पनि, माहोल मज्जैले तातिदै थियो, सामाजिक संजालका भित्ताहरु शुभकामनाका शब्दहरुले भरिएका थिए, इन्द्रधनुषी अबिरका रंगहरुले सजिएका थिए | सबैको आँखा चिर परिचित प्रतिद्वन्दी हंगकंग तिर थिए | जो पछिल्लो समय उत्कृष्ठ खेल खेलेर प्रशंसाको पात्र बनेको थियो, यसर्थ हामी सबैलाई थाह थियो, यात्रा सहज छैन |  
खेल शुरु हुनुपूर्व खेलको नियम अनुरुप भएको टस हंगकंगले जित्यो र नेपाललाई पहिले ब्याटिंगको लागि आमन्त्रण गर्यो | पहिलो ब्याटिंग नेपालको एउटा कमजोरी हो, कमजोरी यसर्थ कि पहिले ब्याटिंग गर्दा नेपाली टोलि "कम्फ़टेबल" फिल नगरेको हामीले धेरै देखेका छौ अनि संगसंगै पहिले ब्याटिंग गरेर धेरै खेल गुमाएको पनि देखेका छौ | तैपनि त्यो सबै कुरा थिएन, संयमित भएर ब्याटिंग गर्नु पर्ने थियो र पहिलो जित दर्ज गर्नु पर्ने थियो | अन्तत त्यो महान समय आयो र नेपाल र हंगकंग दुवै देशले पहिलो पटक विश्वकपमा डेब्यु गरे | 

धड्कन बढ्दै गयो, रगत तात्दै गयो, चिटगांवको जहुर अहेमद चौधरी स्टेडियममा चन्द्र सुर्यको ध्वजा फहरिन थाल्यो, म भित्र संचित राष्ट्रियताका कण कण लौरी टेक्दै मुटुसम्म आइपुगे र एकै सासमा चिच्याउन खोजे "नेपाल" "नेपाल" भन्दै, आँखामा अनायास खुशीका आँशुहरु एकत्रित भएर बहन खोजे, राष्ट्रिय गानको धुन सुनिरहदा परदेशी माटोमा अनायास नेपालीत्व खचाखच भयो, थेग्नै नसक्ने झैँ गरि | 

Sunday, December 30, 2012

जेपीटी कथा अंक १

जेपीटी कथा अंक १

चिकेन बारबीक्यु पिज्जा टोक्दै थिए, अकस्मात फोनको घन्टी बज्यो |
                   -----------------0-----------------------
कथाको सुत्रधार म नै हूँ र एउटा प्रमुख पात्र पनि, बीचबीचमा अड्मिल्दा कुरा गर्ने र अनपेक्षित गति लिन खोज्ने पनि मै हूँ |
                                   -----------------0-----------------------
ओहो!! फोन उठाउन ढिला भैसक्यो | स्टिभ जब्सको उत्पादनमा उनले ठिक ठानेको डिफल्ट धुन कोठा भरि बहकिदै थियो, फोन गर्नेका अंक नयाँ थिए | एकछिन है | अंकहरु नयाँ हुन सक्दैनन् कि भन्ने कुरा झट्ट माइन्डमा स्ट्राइक गर्यो | अंकहरु नयाँ त कसरि हुन सक्छन र नि, यी अंकहरु यही क्रममा फोनको कुनै कुनामा सुरक्षित गरिएका थिएनन त्यो बेग्लै कुरा, त्यति नहुदैमा ति अंकहरु नयाँ हुन सक्दैनन् नौला होलान बरु | सोच्दा सोच्दै त्यो डिफल्ट धुन टुंगियो, कोठामा पुरानै सन्नाटा छायो | तर त्यो केहि सेकेन्डका लागि मात्र थिए | फेरी उही अंकहरु त्यहि क्रमबद्दतामा दोहोरिएर देखा परे मोबाइलको स्क्रिनमा | यो पटक भने त्यो धुन सक्किनु भन्दा अघि नै फोन उठाए र भने "हेल्लो"
उताबाट आवाज आयो-"ओहो!! अजय, कति बेर लागेको फोन उठाउन ?"
उताबाट नामै किटेर प्रश्न तेर्सियो | तर आवाज चिनिहाले त्यो सक्षमको आवाज थियो |

Tuesday, November 27, 2012

सामाजिक संजाल, ब्लग र नेपाली युवा

सामाजिक संजाल, ब्लग र नेपाली युवा

(२४ मार्च २०१२का दिन लेखिएको र ब्लगको ड्राफ्टमा रहिरहेको पोष्ट )
केही दिन अगाडि सामाजिक संजालको एउटा मध्यम टुइटर प्रयोग गरि पत्रकार किशोर नेपालले एउटा बन्चरो प्रहार गरे | जसमा लेखिएको थियो, नेपालको सामाजिक संजालको कब्जा केटाकेटीहरुले गरेका छन् जो ढुंगे युगका मान्छे जस्ता छन् | उनको यी शब्दले पढ्ने जति सबैलाई झस्कायो | उनि स्वयम् पनि सामाजिक संजालका एउटा प्रयोगकर्ता हुन् र पनि उनले उक्त टुइट गर्नु अघि यो कुरो हेक्का नराखे जस्तै देखियो | त्यसैले उनलाई रातारात विरोधाभास पात्रका रुपमा तयार परियो, सामाजिक संजालमा | उनका बिगतका कार्यहरुको मुल्यांकन गरियो, मुल्धारे पत्रिकाले समात्न नसकेको सामाजिक संजालका गतिका बारेमा चर्चा भयो, त्यो साता पुरै सामाजिक संजालमा |

यो एउटा उदहारण मात्रै थियो, सामाजिक संजालमा हामी नेपालीको अवस्थाका बारेमा | सामाजिक संजालको प्रयोग कुन उदेश्यका लागि हुनुपर्छ, त्यो छुट्टै वहसको बिषय हो, आज त्यता तिर नलागौ | आजको बिषय सामाजिक संजालको एउटा प्लेटफर्म ब्लगमा केन्द्रित रहने कोशिस हुनेछ, नेपाली समाजमा यसको अभ्यास र नेपाली युवा बर्गको योगदानलाई नजिकबाट नियाल्ने प्रयास हुनेछ | किनकी नेपाली समाज ब्लगिंगको अभ्यासबाट अछुतो छैन, यहाँ हेरक बिषयका बारेमा ब्लगिंग गर्नेहरु भेटिन्छन | नेपाली समाजमा प्रबिधिमा नजिकबाट पहुच भएको वर्ग युवा वर्ग हो | हो, यही युवा वर्ग नै सबैभन्दा बढी होमिएको छ ब्लगिंगको दुनियामा, यही युवा वर्गले ब्लगलाई कुन रुपमा लिन्छ, आजको कुरोको चुरो त्यही हुनेछ | सामाजिक संजाल र ब्लगले हाम्रो समाजलाई कता तिर डोराउदै छ, के माथि किशोर नेपालको टुइटमा भनिए जस्तै सामाजिक संजाल नेपालको सन्दर्भमा कलिला बच्चाहरु वा उनकै शैलीमा ठेट्नाहरुले कब्जा गरेकै हुन् त? अनि के ति सामाजिक संजालका प्रयोगकर्ताहरु विचारहिन ढुंगे युगका आदि मानव जस्तै छन् त? यिनै प्रश्नका जवाफ खोज्ने कोशिस गर्नेछौ | सामाजिक संजालबाट पनि स्पेशिफिक हुदै ब्लगमा केन्द्रित हुदै यी चर्चाहरु गर्नेछौ | त्यसो त आज-भोलि ब्लगिंगलाई पनि मोर्डन र ट्रेडिसनल भनेर बिभाजन गर्ने गरेको पाइन्छ | मोर्डन ब्लगिंगले टुइटरमा लेखिने जस्तो माइक्रोब्लगिंग बुझाउछ, जुन एकदमै थोरै, एकदमै स्पेशिफिक र अति नै कन्सनट्रेट हुनुपर्छ भन्ने मान्यता राख्दछ | तर हामी भने यो लेखमा ट्रेडिसनल अर्थात् परम्परागत शैलीकै ब्लगिंगको दयारा भित्र रहेर कुरा गर्नेछौ, जसमा लेखाइको शंख्यात्मक बन्धन हुदैन र केही हदसम्म खुल्ला मानिन्छ, जसलाई फोटो, भिडियो र लेखाइले आकर्षक स्वरूप दिन सकिन्छ | एकै हरफमा भन्दा यो खुल्ला आकाशमा उडेको चंगा जस्तै हुन्छ, लेखमा उठाइएको बिषयले धागोको जस्तै काम अर्थात् लेखको दयारालाई नियन्त्रण गर्छ |

Tuesday, October 9, 2012

साउथ ह्याम्पटन र स्वानबिक यात्राको सम्झना

यात्राको क्रममा खिचिएका केही तस्विरहरु आजको ब्लगमा
 

Thursday, July 26, 2012

ओलिम्पिक इन लण्डन एण्ड मि


ओलिम्पिक इन लण्डन एण्ड मि
Olympic in London & me

आज भन्दा लगभग तिन बर्ष पहिले बेलायतको स्टुडेन्ट भिषा नेपालमा छरपष्ट हुदा अगष्ट महिनाको अन्तिम तिर हो क्यार त्यसतै एउटा स्टुडेन्ट भिषा मेरो हातमा परेको थियो त्यसको झन्डै एक महिना पछि दशैँको फूलपातीको अघिल्लो दिन बेलायतका लागि जेट इयरको जहाज चढ्नु अघि मेरो मनमा एउटा ख्याल आएको थियो, २०१२ को ओलम्पिक बेलायतमा हुनेछ म त्योसंग साक्ष्यात्कार हुनेछु | आज घडी घुमेर त्यो दिनको पूर्व सन्ध्यामा आइसकेको छ, म एक पटक बिगत फर्किएर हेर्ने कोशिस गर्दै छु | 

बेस्ट मिनिस्टर ब्रिजमा उभ्भिएर नदि पारी पट्टिको ब्रिटिस पार्लियामेन्ट हेरर म टोलाउदै बसिरहेको हुन्छु | यो बेलायतको सर्वाच्च शक्तिशाली संस्था, चाहे मलाई लण्डन ल्याई पुराउन होस् वा ओलम्पिकलाई लण्डन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ अझ भनौ प्रमुख भूमिका खेलेको छ | मलाई र ओलम्पिकलाई एउटै शहरमा ल्याएर जोडीदिएको छ | यो पार्लियामेन्टका निम्ति म महत्वहिन र ओलम्पिक सर्बाधिक महत्वको बिषय | समयले करिब करिब तिन बर्ष बितायो, मेरो लण्डन बसाईंको, यहाँ आइसके पछि मेरा निम्ति ओलम्पिक गौण कुरा भयो, प्राथमिकताको लिस्टमा अनेक थोक परे जागिर, कलेज, भिषा, एमबिए, पैसा, कोठा, आदि आदि | प्राथमिकताको लिस्ट पटक पटक चेन्ज भए | तर कहिल्यै ओलम्पिक आइपुगेन त्यो लिस्टमा | तर खोला पारीको पार्लियामेन्ट भवनमा ओलम्पिक प्रमुख मुद्धा बनेर बसिरह्यो, प्राथमिकताको बिषय भैरह्यो | खोला वारी र खोला पारी दुइ फरक उदेश्य उभिएका थिए, खोलाको दुइ किनारको भेट नहुने निश्चित प्राय थियो |

Thursday, May 3, 2012

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै 

म प्रश्नहरु माथि त्यति धरै निरंकुश हुन्न, प्राय प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु | 

संयोग अचम्मको परेको थियो, प्राय यस्ता अवस्थाहरु अचम्म दयाक हुन्छन र त् संयोग भनिन्छन, जे होस् यो पटक मैले उत्तर भेटे पश्चात प्रश्न जन्मिएको थियो, यो प्रश्नले आफ्नो अस्थित्व हैसियत कुन रुपमा राख्छ, त्यो उ आफै जानोस, मलाई भने प्रश्नको अवतरण देखेर दया लागेर आएको थियो | 

घडीका सुइलाई एक फन्का घुमाएर म एकै पटक बाल्यकालमा पुग्दछु; मेरो बाल्यकाल जसले मसंग अनेकौ स्मृतिहरु सजाएको छ, जुन मेरो मस्तिष्कको एउटा कुनामा सधै जीवित भएर बाँचीरहेको छ हो त्यही बचपनमा पुग्छु म | चितवनको एउटा सानो गाउँको सानो चौघेरा भित्र सुन्दर सजिएको थियो त्यो | भद्दा सजिएको होइन, चरम अभावको खडेरीमा अल्झिएको होइन, बीच मै कतै, केही पाए जस्तो, केही पाउन अझै बाँकी जस्तो पनि |

Saturday, February 18, 2012

पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

Nepali movie 'Loot' featuring in London, UK
पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

१६ मार्चमा लण्डनमा एक सफल व्यवसायिक नेपाली चलचित्र लुट पहिलो पटक प्रदर्शन हुने भएको छ | यो चलचित्रलाई लिएर म पहिले देखि नै निक्कै उत्साही भएको छु | यो चलचित्रका बारेमा मैले केही भनिरहनु पर्दैन | पछिल्लो एक महिनामा नेपाली सिने जगतमा यो चलचित्रका बारेमा भएको टिप्पणी र प्रतिक्रिया नै काफी छ | लण्डनमा यसको प्रदर्शनको तारतम्य मिलाएको छ, सिग्नेचर भन्ने ग्रुपले | फेसबुकमा यो इभेन्टका बारेमा निम्न अनुसार जानकारी राखिएको छ | 

Event: 'Loot' in London Premier UK- The Signature
By the Signature
Date: 16/03/2012
Venue: Clapham Grand, Clapham Junction, London SW11 1TT
Time: 5-5.45 PM (Pre Screening)
6-8.30 PM (Movie Time)
8.45-10 PM (Post Screening)
Price: £12 Normal
£15 Balcony
Please note the movie is 16+

Saturday, December 10, 2011

बेमौषमको कथा; अजय ढुंगाना


बेमौषमको कथा


किन्चित, मस्तिष्कमा अल्झिएका पुराना कुराहरु सम्झीरहेछु | बाहिर बेजोडको हावा चलिरहेछ | हावाले मनमा एउटा भय उत्पन्न गराइरहेछ | झ्यालको छेउमा गएर उभ्भिएर बाहिर हेर्छु | आकाश डरलाग्दो देखिन्छ, साझको चार बज्न खोज्दैछ, साझ यसअर्थ कि अन्धकार बढ्दैछ, समय साझ जस्तै बनेर उभ्भिएको छ | बेजोडको हावा-हुरीले मन फेरी भयभित बन्छ | मन चिस्सिएर आँउछ, अनि बिस्तारै पुरै शरीर नै चिसो हुन्छ | मोजा नलगाइएका खुट्टाहरु एक माथि अर्कोले टेक्दै तातो बनाउने कोशिश गर्छु | हातले सेन्ट्रल हिटिंगका पाताहरु छुन्छु | एकै छिनमा हात पोले जस्तो हुन्छ, हात सेन्ट्रल हिटिंगका पाताबाट हटाउछु | सेन्ट्रल हिटिंगका पाताहरु आफैमा ताता थिए तर कोठा तातेको थिएन | चिसोका सृंखलाहरु शुरु भएका थिए | डिसेम्बरको पहिलो हप्ता भर्खरै सकिएको छ, खाटमा रहेको ल्यापटपमा बि.बि.सी.नेपाली सेवाबाट प्रशारण हुने समाचार बजिरहेछ, मेरो पुरै ध्यान त्यो समाचारमा मात्रै छैन | म अरु नै केही पनि सोच्दैछु, तर के यति बेला बिर्सीसके | 

एकै छिनमा खाटमा आँए, सिरक ओढे र भित्तामा आढेस लगाए | सिरक भित्रको न्यानोमा खुट्टाहरु खुशी थिए | हातहरु भने मुखसम्म पुगिसकेका रहेछन, उफ्फ़ फेरी नंग टोक्न थालिसकेछु | सम्झे पछि त्यो छोडे, अनि चस्मा खोलेर चस्माका शिशाहरु पुछे र लगाए | चस्मा दोषी होइन रहेछ, कोठामा नै उज्यालो कम भएको रहेछ | खाटबाट नउठीकनै बत्तिको स्विच अन गरे | उज्यालो बढे पछि अलि सजिलो लाग्यो | मन शान्त भए जस्तो भयो | तर होइन रहेछ, मन पुराना कुराहरु सम्झन व्यस्त हुन थाल्यो |

Sunday, November 6, 2011

परिबर्तनका लागि एउटा अभियान

परिबर्तनका लागि एउटा अभियान
Clean Kathmandu revive its beauty.

हामी समुन्नत समाजको कल्पना गर्छौ | सुन्दर समाजको कल्पना गर्छौ | हाम्रो नगरी स्वस्थ र हराभरा भैदिए हुन्थ्यो भन्ने चाहना राख्छौ | तर हाम्रो चाहना वा कोरा कल्पनाले मात्रै समाज परिबर्तन हुने वाला छैन र  हुदैन पनि, तर कहिले सम्म हाम्रो टोल र नगर परिबर्तन हुदैन?? एक पटक सोचौ त् हामी कस्तो नगरीमा बाँचिरहेका छौ | हामीले फेर्ने प्रत्येक स्वासमा प्रदुषित हावा छ, हामीले टेक्ने प्रत्येक जमिन कुनै न कुनै रुपमा प्रदुषित भै-सकेको छ, हामीले पिउने पानीको प्रत्येक थोपामा डरलाग्दा जीवाणुहरु प्रसस्तै भेटिन्छन | हो, म चर्चा हाम्रो राजधानी काठमाडौँको गर्दै छु | हामी अस्वस्थ टोल, समाज र नगरका बासिन्दा, यति मात्रै होइन हामी संसार कै सबै भन्दा फोहर नगरका नगरबासी, संसारकै सबै भन्दा फोहर नदी हाम्रै शहरको बीच भाग भएर बग्दछ | यथार्थ यही हो, यो यथार्थ डरलाग्दो र भयङ्कर भै सकेको छ | बस्ताबमा हामी आफ्नो पहिचान फेर्दै छौ, हामी मन्दिर नै मन्दिरको शहरले विश्वमा चिनिने गर्थ्यौ, तर अब होइन विश्वका सबै भन्दा फोहरी मान्छे भनेर हामी आफ्नो नयाँ पहिचान बनाउदै छौ | सोच्नुस् त के तपाई यो नयाँ पहिचानमा गौरब गर्न सक्नुहुन्छ | पक्कै पनि सक्नुहुन्न |

हाम्रो सुन्दर कान्तिपुरी नगरीलाई सुन्दर राख्न हामी आजैबाट र आफैबाट परिबर्तनकारी पाइला चाल्न जरुरी छ | देशको सबै भन्दा बढी शिक्षित मान्छेहरुको आवादी भएको हाम्रो महानगरको स्थिती यस्तो भयावह छ | हाम्रो व्यवहारले हामी चेतना शुन्य मान्छे जस्तै भएका छौ | डरलाग्दा फोहरका थुप्राहरु हाम्रो दैनिकीको अभ्यस्त पाटा भै-सकेका छन् | हामी संसार मै सबै भन्दा धेरै टाइफाइडका बिरामी उत्पादन गर्ने फ्याक्ट्री तयार पारिरहेका छौ | हाम्रो शहरमा जन्मेका झन्डै ९२% नवजात शिशुमा जन्डिस (कमलपित्त) को जीवाणु भेटिन्छ | तपाई हामी आफैले पनि यो शहरमा जन्डिसले संक्रमित नभएको मान्छे भेट्न असम्भब प्राय भै-सकेको छ | यो हाम्रो डरलाग्दो बास्तबिकता |

Sunday, October 30, 2011

अक्सफोर्ड यात्राको सम्झना


अक्सफोर्ड यात्राको सम्झना


लक्ष्मी पुजाको दिन गरेको अक्सफोर्ड यात्राका केही मिठा नमीठा, राम्रा नराम्रा तर सबै यादगार पलहरुको तस्विरलाई आजको ब्लगको सामाग्री बनाएको छु | सबै तस्विरहरु आफै बोल्न सक्दैनन् कि भनेर धेरै-थोरै तस्विरका बारेमा पनि लेखेको छु |


अक्सफोर्ड पुगे पछि त्यहाँ देखिएको, अक्सफोर्ड शहरका बारेमा राखिएको Information Board.

Sunday, October 23, 2011

मेरो उपन्यासको पानाबाट; अजय ढुंगाना

                                 मेरो उपन्यासको पानाबाट



चिन्ताले मन ढक्क फुलिरहेको जस्तै भएको थियो | कुनै अजंगको चिन्ता, अझ भनौ अजिंगर जस्तै डरलाग्दो चिन्ता | उसलाई थाहा थियो, मेरो चिन्ता के हो भनेर, म उसलाई आफ्ना कुरा नभनीकनै कहाँ बस्न सक्थे र ? जस्तो उ, उ पनि आफ्नो सानो भन्दा सानो कुरा सबैभन्दा पहिले मलाई भन्थ्यो, यसको एउटा रीत बसिसकेको थियो, एउटा सिलसिला |
उ कोठाबाट बाहिर गयो, अनि केहि बेरमा भित्र आयो | भित्र आएर उसले भन्यो 
"अजय तास खेलौ"
मैले कुनै प्रतिक्रिया जनाइन |
प्रतिक्रिया नजनाउनु कुनै अनौठो थिएन |
उसले पुनः मलाई कर गर्यो | कर मात्रै होइन, अचम्मको हठ गर्यो, जिद्दी जनायो, यस्तो जिद्दी कि एउटा सानो बच्चाले आफ्नो बाबुसंग सुत्ने बेलामा कथा सुनाउनका लागि गरेको जिद्दी जस्तै | निस्वार्थ | तर पनि मैले भने "जाँगर छैन |"
उ फेरी कोठाबाट बाहिर निस्कियो र छिट्टै नै कोठामा फर्कियो | उसको हातमा दुइटा चियाको कप थियो, उसले एउटा मलाई दिदै भन्यो 

Friday, September 16, 2011

दशैँ आयो, तिहार आउदैछ; अजय ढुंगाना

दशैँ आयो, तिहार आउदैछ


हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
.........…...............….............................


पानीको वर्षा घटेर होस् वा हिलो मैलो हटेर होस्, दशैँ आएको भान भै-रहेछ मलाई यतिबेला | बर्षको मध्यमा पर्ने शरद ऋतु र मनोरम शरद ऋतुमा पर्ने यो महान पर्बले घरबाट टाढा रहदा खेरिको आत्मियताको अभाबलाई फेरी एकपटक महसुस गराएको छ | दशैँको फूलपातीका दिन परिवारसंग छुट्टिएर लण्डन उडे पछि परिवारसंग संगै दशैँ मनाउन नपाएको यो तेश्रो दशैँ हुनेछ | यो बिशेष महत्वको पर्ब, आफन्तलाई एक-साथ जुटाउने पर्ब, उत्साह र उमङ्गको पर्ब, मलाई यो पर्ब आउदाको समय नै निक्कै रमाइलो लाग्ने गर्थ्यो; सानै देखी |

काठमाडौँमा रहदाको चार पाँच बर्ष टिकाको केही दिन अगाडि मात्रै घर गइन्थ्यो; चाड बाडको समयमा गाडीको टिकट पाउन मुस्किल हुने हुनाले कहिले गाडीमा उभ्भिएर त कहिले माइक्रो बसमा कोच्चिएर | पाँच छ घण्टाको कहालीलाग्दो यात्रा र त्यसको थकान त्यो सबै भुलिन्थ्यो, दशैँमा घर पुगे पछी | दशैँमा घर पुग्दा यस्तो लाग्थ्यो घर मलाई पर्खेर बसिराखेको छ; मेरै प्रतीक्षामा छ; मेरै इन्तजारमा छ | बुबा आमा, छर छिमेक, गाउँ घरका साथी भाइ सबैसंगको फुर्सदिलो भेटघाटले सम्बन्धको आत्मियतालाई फेरी एकपटक नयाँ उचाईमा पुराउथ्यो; अनि रोजगारी र पढाईका लागि मुग्लान छिरेका दाजु भाइ दशैँका लागि क्रमश फर्किरहेका हुन्थे, ति मध्ये कसैसंग त बर्षौ पछि भेटघाट हुन्थ्यो |

Monday, August 29, 2011

लण्डन थेम्स फेस्टिबल र नेपाल


लण्डन थेम्स फेस्टिबल र नेपाल

बेलायतसंग नेपालको पुरानो र बेग्लै किसिमको सम्बन्ध छ; जुन चाहे जंगबहादुरले नै लेख्न शुरु नगरेको किन नहोस?? नेपाललीहरुले पनि बेलायत प्रति राख्ने धारणा भिन्दै छ; आज बेलायतमा नेपालीहरुको आवादी बाक्लै भै सकेको छ; गुर्खा सैनिकले बसाएको बस्ति मात्रै होइन यहाँ सबै ठाउँ, जात र धर्मका नेपालीहरु भेटिन्छन |

प्रसङ्ग आज बेलायतमा रहेका नेपालीहरुको बारेमा होइन; प्रसङ्ग अंग्रेजले नेपाल प्रति राख्ने सम्मानको एउटा सानो किस्सा हो | संयोगले अस्ति शुक्रबार टावर ब्रिज पुगेको थिए; त्यहा चलिरहेको रहेछ थेम्स फेस्टिबल | लण्डन थेम्स फेस्टिबल लण्डन ब्रिज र टावर हिल ब्रिजको बीचमा र टावर हिल ब्रिजबाट देब्रे पट्टि चलीरहेको रहेछ; यो उत्सबका बारेमा धेरै कुरा मलाई जानकारी रहेन; तर यही उत्सबको एक हिस्सा दोश्रो विश्व युद्धमा प्रयोग गरिएको एक पानीजहाज जसलाई आजभोली संग्रालयका रुपमा बिकाश गरिएको छ; त्यो जहाजलाई दुलही जस्तै गरि सजाइएको थियो |  त्यो संग्रालय पहिले नै घुमीसकेको हुनाले फेरी भित्र जाने रहर चलेन त्यसैले लण्डन ब्रिजबाट टावर हिल ब्रिज तिर अगाडि बढे; बादलले घामसंग लुकामारी खेल्दै थियो; बिच-बिचमा पानी सिम सिम पर्दै थियो | केही अगाडि बढे पछि देखे त्यो उत्सबमा फोटो प्रदर्शनी पनि गरिएको रहेछ; त्यहाँ रहेका केही तस्विरमा पुगेर मेरा आखा टक्क अडियो | ति तस्विरहरु थिए, नेपालको नेवारी परम्परा अनुसार गरिने बिबाहका दृश्यहरु | लण्डनको एक मुख्य पर्यटकीय केन्द्रको छेउमा नेपाली सस्कृतिका केही तस्विरहरु सजाएर राखीएको देख्दा मनमा छुट्टै किसिमको आनन्द छायो, तरङ्गले भरियो |

Monday, December 27, 2010

एक कप ब्ल्याक स्ट्रोङ कफी; अजय ढुंगाना

एक कप ब्ल्याक स्ट्रोङ कफी
(आफ्नै गन्थन)


चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |

कप रित्तिएपछि झ्यालको छेउमा गएर उभिन्छु अनि बाहिर हेर्न थाल्छु; हिउ परेर ओभिनसकेका कान्ला र चौरहरु देखिन्छन मेरो कोठाको झ्यालबाट, यो घर भन्दा पछाडी पट्टीको दृश्य हो | झ्यालको छेउबाट फेरी छिटै नै खाटमा गएर बस्न मन लाग्दैन, कुर्चीलाई झ्यालको छेउमा तान्छु र त्यसमै बसेर फेरी बाहिर तिर हेर्न थाल्छु | चिसोले गर्दा एकै ठाउमा गुइठो परेर बस्न खोजे जस्तै गर्छु, तर त्यसले पनि काम गर्दैन | नेपालबाट आउदा खेरी ल्याएको दिदीको खैरो पछ्यौरा खाटबाट झिकेर ओडेर बस्छु; खुट्टालाई सेन्ट्रल हिटिंगको टिनमा छुवाएर राख्छु, अनि बेला मौकामा हातले पनि त्यही टिनको पाता छुन्छु |

घर नजिकैबाट एउटा ट्रेन उ पर ब्रिमिंगहमसम्म पुग्छ, त्यसैको आवाजले मेरो ध्यान त्यतै तिर तानिन्छ, म हेर्छु त्यो रेललाई; त्यो सेतो रंगको 'चिलटन रेल' आजसम्म चढ्ने मेसो मिलेको छैन, त्यसको अनुभव अह, म बर्णन गर्न सक्दिन, त्यो मेरो जिन्दगीको अनुभव भन्दा परको कुरा | ट्रेन गैसकेपछी, त्यहाँ देखिन्छ, उही पग्लिन बाकी हिउका बुदहरु | म सोच्छु, सम्झन्छु, मेरो जिन्दगीका रंगहरु, चितवन, काठमाडौँ र लण्डनको बसाई; अनि आफ्नै अभिलाषाहरुको मन भित्रको द्वन्द | २०६३ सालमा काठमाडौँमा हिउ पर्दा किर्तिपुरमा मेरो बसाई थियो, फाल्गुन ३ गते, उपत्यका बन्दको दिन हिडेर चन्द्रागिरिसम्म पुगेको र हिउमा चिप्लिएको मेरो मस्तिष्कमा ताजै छ | त्यसको ३ बर्ष पछि गत बर्ष आफैसंग साक्षात थियो थेगी नसक्नुको हिउ; र अघिल्लो बर्षको अनुभबलाई बिर्साउदै, यो बर्ष झन् धेरै हिउसंग साक्षात भए | समयको बहाबसंगै बग्दै जादा र जिन्दगीका कान्लाहरु चढ़दै जादा, ''यी सबै त आउदै जादै गर्छन'' बाबा भन्ने गर्नु हुन्थ्यो; म बाबालाई सम्झन पुग्छु | मेरा सम्झनाका शृंखलाहरु अकस्मात आछाम र जाजरकोटका डाडा तिर पुगेर अल्झिन्छन, बाबा यतिबेला त्यतै हुनुन्छ, पछिल्लो पटक उहासंग झन्डै २ महिना अघाडि कुरा भएको थियो | बाबा, २०६४ सालमा जिरी पुग्दा यस्तै मनका अभिलाषाहरु मध्यको एक, आकाशमा कबास झैँ उड्ने, निर्मल, कन्चन हिउका बुद्हरुसंग पहिलो पटक साक्षात हुनु भएको थियो रे; जिरीबाट फर्किएर काठमाडौँ आए पछि भन्दै हुनुहुन्थ्यो, यो भन्दा पहिले पहिले हिउले पुरिएर सेताम्मे भएका डाडाहरु त देखेको थिए तर आकाशबाट परिरहेको यति धेरै हिउसंग साक्षात भएको यो पहिलो पटक हो | उहाले यो भन्नुहुदा मैले उहाको मुहारमा एउटा बेग्लै किसिमको उत्साह देखेको थिए |