Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts

Thursday, May 3, 2012

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै 

म प्रश्नहरु माथि त्यति धरै निरंकुश हुन्न, प्राय प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु | 

संयोग अचम्मको परेको थियो, प्राय यस्ता अवस्थाहरु अचम्म दयाक हुन्छन र त् संयोग भनिन्छन, जे होस् यो पटक मैले उत्तर भेटे पश्चात प्रश्न जन्मिएको थियो, यो प्रश्नले आफ्नो अस्थित्व हैसियत कुन रुपमा राख्छ, त्यो उ आफै जानोस, मलाई भने प्रश्नको अवतरण देखेर दया लागेर आएको थियो | 

घडीका सुइलाई एक फन्का घुमाएर म एकै पटक बाल्यकालमा पुग्दछु; मेरो बाल्यकाल जसले मसंग अनेकौ स्मृतिहरु सजाएको छ, जुन मेरो मस्तिष्कको एउटा कुनामा सधै जीवित भएर बाँचीरहेको छ हो त्यही बचपनमा पुग्छु म | चितवनको एउटा सानो गाउँको सानो चौघेरा भित्र सुन्दर सजिएको थियो त्यो | भद्दा सजिएको होइन, चरम अभावको खडेरीमा अल्झिएको होइन, बीच मै कतै, केही पाए जस्तो, केही पाउन अझै बाँकी जस्तो पनि |

Sunday, October 16, 2011

बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


लण्डन ब्रिजको म  पढ्ने क्याम्पस छेउ बन्दै गरेको एउटा बिशाल भबनको नाम हो 'द शार्ड' हो | यो बेलायतको सबैभन्दा अग्लो भबन हुने भएको छ |  आउनुहोस आज यही भवनको कुरा गरौ |

को हुन् त यो भवनको डिजाइनर ?
यो भबन औपचारिक रुपमा २०१२को मे महिनाबाट खुल्ने भएको छ | अहिले यसको निर्माण अन्तिम चरणमा पुगिसकेको छ | ८७ तल्लाको तो भबनका डिजाइनर इटालीका रेन्जो पिएनो हुन् | उनि विश्वका चर्चित र नामी डिजाइनरका रुपमा चिनिन्छन | ओसाका जापानको कान्सकी अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल, नेदरल्याण्डको NIMO साइन्स म्युजियम, न्युयोर्कको मोर्गन लिबर्टी, न्युयोर्ककै न्युयोर्क टाइम्सको भबन, सिड्नीको औरोरा प्लेस उनले डिजाइन गरेका केही प्रतिनिधि भबनहरु हुन् | यो भन्दा बाहेक उनको डिजाइनका लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट्स, कोलम्बिया विश्वबिद्यालय, हार्बर्ड आर्ट म्युजियम, रेन्जो पिएनो टावर क्यालिफोर्निया, माल्टाको संसदीय भबन, माल्टाकै ओपेरा हाउस लगायतका भबनहरु निर्माणका क्रममा छन् |

Monday, February 28, 2011

लोभ्याउन सिपालु कुन्छा (संमरण); श्याम दाहाल


लोभ्याउन सिपालु कुन्छा

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-पि्रय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ । त्यहीँको घटनाले- पू.प्र.म. सूर्य ब. थापाज्यू कहिल्यै नबिर्सिने हुनुभएको छ । महतजी अहिले ढुङ्गो समाउँदा-द्रव्य हुने, माटो समाउँदा-सुन हुने, ठाउँमा पुग्नुभएको छ । म यथावत् छु । उहाँ उस्तै हुनुहुन्छ कि कस्तो हुनुभएको छ, थाहा छैन । -छँनता-प्र.म. ला ब. शास्त्रीका दाँत, सखा, मङ्गलदेव शास्त्रीले हालिदिएको व्यथा पनि जिउँदैछ ।) परीक्षाले गर्दा-महिनौँ अघिदेखि निदलाई फकाएर एम.ए. को परीक्षा सकेपछि आनन्दले दुई-चार दिन सुत्लास् भनेर लोभ देखाउँदै लगियो तर परीक्षा सकेको रात त विचरा ?... निदले झन्-झपक्कै आँखा लगाउनसम्म पनि पाएन । बाटो खोज्दाखोज्दै-विचारमा डुबेर झन् छर्लङ्ग रात बित्यो । तत्काल नयाँ समस्या पो अगाडि देखापर्‍यो-अब बिहान उठेर कहाँ जाने ? विनाकाममा के गरेर कसरी बस्ने ? चिन्तैचिन्ताले रातभरिमा दुईवटा विकल्प तयार भए । पहिलो विकल्प प्रशासन जाने । सायद यही बाटो हिँडेको भए- म पनि नेपालका अधिकांश पठित-टाठा-बाठाहरूले भ्रष्टाचार गरेर रातारात अकूत सम्पत्ति जम्मा पारेर नेपालका नामूद भ्रष्टाचारीहरूको पङ्क्तिमा सगौरव, निर्ममताका साथ शानदाररूपमा आफूलाई समाज सामु सगर्व उभ्याउन हुने थिए कि  । अर्को विकल्प थियो- राजनीतितिरै हाम्फाल्ने । त्यो समय पञ्चकै बढी बिगबिगी थियो र पञ्चको कर्म र आचारण देखेर, घरपरिवारले पटक्कै रुचाएनन्, बरु डराए । यसैबीच रामचन्द्र न्यौपानेदाइ आइपुग्नुभयो, धोबीधाराको डेरामा ।

Monday, February 7, 2011

अनुभूतिको महायात्रा, (निबन्ध); संगीत आयाम


अनुभूतिको महायात्रा

जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।

कविता अर्थात् काव्यमा विशिष्ट शक्ति छ भनेर समालोचकले भनेको कुरालाई नै अनुशरण गरेर अघि बढ्नु पर्दछ भन्ने हुँदैन, राम्रो कविता आफैँ बोल्छ र कविताले मस्तिष्करूपी तन्तुमा मात्र होइन हृदयरूपी सागरमा पनि सक्दो हस्तक्षेप गर्न छोड्दैन । हजारौँ वर्षमा दार्शनिकहरूले धेरै कुरा भनेर गए, सायद भन्न बाँकी केही पनि भएको देखिँदैन तर कहिल्यै समाप्त भएको हुँदैन सार्वजनिक नभएका कुराहरू । ओझेलमा परेका कुरामाथि पनि एकदिन उज्यालोको प्रतिबिम्ब अवश्य नै पर्नेछ, यस्तो विश्वस्तताको पनि आफ्नै प्रकारको भूमिका हुनुपर्छ । जीवनका विविध रङहरूलाई समयमै महसुस गर्न सकिएन भने जीवनको उदासीनता मात्र प्रकट हुन्छ । जीवन वैचारिक पुञ्जभन्दा बढी नयाँ नयाँ रङहरूलाई समायोजन गर्ने सन्दर्भमा अनुभूतिजन्य छ । जीवनको उदय नै सर्वोपरि सत्ता हो । सायद यसैबाट निकै अभिप्रेरित भएर होला म आजभोलि दार्शनिकताको खोजीभन्दा बढी भावनात्मक हुने कोसिसमा जुटिरहेछु ।

दार्शनिकहरूले विचारको मृत्युको घोषणा धेरै पहिला नै गरेका हुन् तर अचम्म लाग्छ, न उनीहरूले कहिल्यै मृत हुने विचारमाथि काम गर्न नै छोडे न विचारलाई अस्तित्वबाट पर राख्दै आफ्नो महत्वाकाङ्क्षालाई अघि बढाउन नै छोडे ।

दार्शनिकहरूको अवसर पाएसम्म भन्ने बानी नै हुन्छ, अर्थात् उनीहरूको खेती नै त्यही हो । उनीहरू के के भन्दछन्, त्यतातिर नजाउ" । महसुस गरेर आत्मसात् हुने कुरालाई पनि दर्शनको गरुङ्गो भारी बोकाउँदै वैचारिक श्रेष्ठता प्रमाणित गर्न खोज्नु र त्यसलाई उच्चदार्शनिकताको स्वरूपमा ग्रहण गरिनु त्यत्तिकै घातक पनि देखिन्छ । यस्तो प्रक्रियाले अर्को कुनै नयाँ दर्शनलाई नै उत्पादन गर्ने काम पनि गर्ने गर्छ ।

Wednesday, January 5, 2011

एब्स्ट्रयाक्ट चिन्तनः प्याज (निबन्ध); शंकर लामिछाने

एब्स्ट्रयाक्ट चिन्तनः प्याज

हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाइँको लेख, त्यो लेख, 'शङ्कर लाभिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''


"कस्तो लाग्यो ?''



" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''



"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाइँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''



" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''



म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।



'व्यथित'जीको हातमा 'हिमानी' को कभर डिजाइन थियो । देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुस हो । त्यसरी नै जसरी 'हिमानी' नाम सुन्नासाथ 'व्यथित' को कलमको सम्झना आउँछ । भन्नुहुन्थ्यो- ''तपाइँजस्तो कलम चल्ने मान्छे, एउटा कथा एक-दुई दिनमा लेखेर दिनुस् न ! म विदेश जाँदै छु यसलाई छपाउन विजयादशमीको साइतमा झिक्ने ।''


एक पागलको डायरी (निबन्ध); मोमिला

एक पागलको डायरी


मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वारी किनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्‍याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्‍यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्‍यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।